Thursday, October 02, 2014

Journey to LIfe: चैनपुर बजार



चैनपुर बजार

मैले भखैरै आठौं वसन्त पार गरेको थिएँ। मेरो घर र मेरो परिवारको दूरी केवल दुई घण्टाको पैदल यात्रा थियो र म र मेरो परिवारको मिलन हप्तै पिच्छे हुन्थ्यो तापनि मेरो त्यो वसन्त दुखमय थियो। योभन्दा अगाडि म मेरो परिवार र मेरो घर छोडेर एक रात पनि बाहिर सुतेको थिइनँ । मेरा बडाबाका छोराहरूसहित मेरा गाउँका अरूहरू पनि  पढ्न नगएका भए मेरी आमाले मलाई बाहिर पठाउने आँट गर्न सक्ने थिइनन् होला। केवल बडाबाहरूसँगको प्रतिद्वन्दिताले मात्र उनलाई त्यो आँट दिलाएको थियो। दोश्रो, मेरी आमालाई प्रकाशसरको संरक्षणमाथि पनि विश्वास थियो र त्यसले पनि उनलाई बल दियो। आज मादीराम्बेनी शिक्षा, स्वास्थ्य, सँस्कृति र सम्पन्नताले हेर्दा कुनै पनि पूर्वी दुर्गम पहाडी बजारसँग दाँजिन सक्छ तर त्यो समयमा बजारियाले त्यो गाउँलाई पाखे भनेर हेला गर्दथे। अन्न उब्जनीबाहेक अरू कुनै पनि विशेषता नभएको गाउँलेले हेपाइ खानु पनि अस्वाभाविक थिएन र हामी बजारियाको हेपाइमा त पर्थ्यौ नै। पढाइमा म कमजोर थिइनँ र म झगडा गरिहाल्ने खालको पनि हैन तर दौंतरी सहपाठीहरूका बीचमा म अति दुब्लो र सानो भए पनि खेलको मैदानमा भने जसरी भए पनि जित्नै पर्ने दृढता बोक्ने हुनाले बजारिया केटाहरू मेरो विरुद्धमा उभिन्थे। ठुला खालका मेरा गाउँलेका सामु त उनीहरू केही गर्न सक्दैनथे तर विद्यालय हाताभन्दा बाहिर भने म उनीहरूद्वारा लखेटिन्थें। त्यसैले म प्रत्येक दिन घर सम्झन्थें र रुन्थें पनि। विद्यालयबाट फर्किएपछि अजीआमै(प्रकाशसरकी आमा)ले सधैं खाजा दिन्थिन् र बिहान बेलुकाको खाना त यसै नै छदै थियो तर पनि शुक्रवारको आधा छुट्टी हुनासाथ कापी किताब डेराभित्र फालेर खाजा पनि नखाई हिडेको मानिस आफ्नो घर पुगेर मात्र थामिन्थें। 

हाम्रो मादीको विद्यालयमा त एउटा मात्र कक्षा थियो र शिक्षक पनि प्रकाशसर मात्रै। चैनपुर बजारमा त कक्षा पनि ५।६ वटा थिए र शिक्षक पनि धेरै। महानन्द सापकोटाले त्यहाँ नियमित शिक्षा र कक्षाको ढाँचा बसालिसकेकाले कक्षा संचालन पनि अलगअलग गरिन्थ्यो। मेरो कक्षामा हामी गाउँका २।४ जना बाहेक सबै चैनपुर बजार क्षेत्रका नै थिए। उनीहरू बीच नातासाइनो हुन्थ्यो र बोली फुट्नासाथ एकअर्कालाई चिनेका हुन्थे। शिक्षक र विद्यार्थी नै पनि नातासम्बन्धभित्र पर्न सक्थे। हामी त विद्यार्थी थियौं, मात्र विद्यार्थी। उनीहरू हामीलाई आफूभन्दा अलग्ग ठान्दथे भेडाका बीचका बाख्राजस्तै र हामीले पनि उनीहरूलाई आफ्ना ठानेनौं। ९।१० महिना त्यहाँ पढे पनि मेरो कसैसँग मित्रता हुन सकेन र एक वर्षपछि त मैले उनीहरूको नाम पनि सम्झन सकिनँ। हाम्रा बीचमा मित्रता या समझदारी नहुनको कारण शायद उनीहरूका बाबुबाजेले हामीलाई 'गाउँले, पाखे' भन्ने गरेकाले हामीलाई हेय सम्झन्थे र हामी पनि बिर्तावालका छोरा भएकाले हाम्रा बाबुबाजेजस्तै आफूलाई बजारियाभन्दा उच्च र कुलिन ठान्दथ्यौं।  

हाम्रा पाठ्यपुस्तकहरू विशेषतः दार्जिलिङबाट प्रकाशित हुने किताबहरू हुन्थे र किताबमा जुन कक्षाका लागि भनेर लेखिएको हन्थ्यो त्यही पढाइन्थ्यो। त्यहाँ आवश्यकताभन्दा उपलब्धता निर्णायक हुन्थ्यो। त्यसै गरी जो उपलब्ध हुन्थ्यो त्यही नै शिक्षक बन्थ्यो। ठिक वा बेठिक छुट्याउन थाले त्यही शिक्षक पनि नपाइन सक्थ्यो। फेरि छुट्याउन खोजे पनि त्यो छुट्याउन सक्ने क्षमता थियो कहाँ र? त्यसैले चैनपुर बजारको मेरो एक वर्षभन्दा पनि कम समयको शिक्षणकालमा ४।५ वट शिक्षक आए गए। 

चैनपुर बजार झन्डै एक किलामिटर लामो बाटो र आँगनामा ढुंगा छापेको बजार थियो र झन्डै पाँच दशकपछि पनि २।४ घर वृद्धि हुनु, नालाको खानेपानी व्यवस्थित हुनु बाहेक अरू सबै उस्तै उस्तै छ। उही पुरानो मानसिकता, उहि पुरानो सोचाइ छ। उही पुरानै हाटबजार छ र तिनै छिमेकी बजारका गाउँलेहरू हाट भर्न आउँछन्। सम्पन्नहरू बजार छोडेर भागिरहेका छन् र असम्पन्नहरू उही पुरानो गुनासोसाथै त्यही अल्भि्कएका छन्। सबै फर्कन्छौं भनेर गएका छन् तर जो गए ती फर्केका छैनन्। त्यो बेलाको सदरमुकाम अहिले छोटिमुकाममा परिणत भएको छ। गाउँलेरू आवश्यकता पर्दा आउँछन् र जान्छन् तर गाउँ र बजारको तनाव चैनपुर झेलि नै रहेको छ। 

चैनपुर सुन्दर बजार हो र मेरो विश्वभ्रमणमा मलाई यति राम्रो अरु कुनै पनि पहाडी बजार लागेन। लगभग १००० मिटर उचाइमा पहाडी पानी ढलोको समानान्तर डाँडामा लमतन्न उत्तर-दक्षिण तन्किएको बजार वारीपारीबाट हेर्दा साँच्चै रमाइलो देखिन्छ र अझ पन्छीदृष्टिले हेर्दा अति रमणिय लाग्छ। चुनले पोतेका र झँगटी या खरले छाएका र घरै पिच्छे पसल कवल निकालिएका घरहरू यसै पनि हामी गाउँलेलाई रमाइला त लाग्ने नै भए त्यसमा पनि सम्पन्न, असम्पन्न सबैका आँगनमा ढुंगा छापिनु ती चैनपुर बजारको साझा स्वरूप हो। खास बजार भ्यागुते ढुंगादेखि टुँडिखेलभन्दा पर कहिले पनि जान सकेन र अरू बजारहरूले विशालताको रूप लिन थाल्दा चैनपुर बजार विशाल चैनपुको अवधारणा आत्मसात् गर्न नसकेर अझै पनि संकुचित मानसिकता शिकार भएको छ।
चैनपुर सुन्दर र सुकिला मानिसहरूको बजार हो। हाटको दिन हाट भर्न तलमाथि गर्ने चैनपुरे युवायुवति मलाई सुन्दर र सुकिला लाग्थे। त्यसमा पनि बजारभन्दा केही तल या पर हरिया खेतका बीचको पँधेरामा मुखमा पानी भरिएका काँसमा करुवा राखिएका सुनजस्ता पहेँला पित्तले गाग्री काँखीमा अड्याएर भर्खरै मात्र ढुंगाले घोटिनाले गुलाफ झैं राता भएका कुर्कुच्चा झल्काउदै र खुट्टा, नलीखुट्टा र हात पाखुरा टल्काउदै हिडने आइमाई देखेर जहिले पनि म सोच्दथेँ — 'हाम्रा गाउँघरमा किन होला यति राम्रा आइमाई नभएका?' 

आज मेरो विश्व अनुभवको सन्दर्भमा भन्नु पर्दा म चैनपुर बजारलाई पहाडको अति ठुलो गाउँ मात्र भन्न सक्छु तर पनि त्यो बेला चैनपुर बजारसँग गाउँकोजस्तो आत्मियता न भएजस्तो लाग्छ मलाई। गाउँमा कुनै नौलो, नया मानिस आयो भने ऊबारे चासो लिइन्छ, सक्ने सहयोग गरिन्छ र सानो बालक छ भने ऊमाथि सहानुभूति देखाइन्छ। सहरकै कुरा गर्दा पनि मस्को, बर्लिन या लण्डनजस्ता सहरमा पनि परदेशि भन्ने जानेपछि मप्रति सहानुभूति गर्ने देखापरि रहन्थे तर ९ वर्षे बालकको निम्ति अन्टार्टिकाभन्दा पनि टाडा लाग्ने त्यो चैनपुर बजारमा प्रकाशसरको परिवारबाहेक कसैले पनि मलाई माया गरेर दुई शब्द बोलेन, ', यो ला' भनेर पित्को दिएन र सहानुभूतिको दृष्टिले हेर्‍योजस्तो पनि मलाई लाग्दैन। त्यसैले मलाई लामो समयसम्म पनि लाग्यो चैनपुर बजार सुन्दर र सुकिला मानिसहरूको चिसो आत्माको बजार हो र अझ उक्रैनी व्यङ्गकार गोगलको शब्दमा भन्ने हो भने 'मृत आत्मा' हरूको बजार हो।

Wednesday, October 01, 2014

विद्यालय र परिवेश



विद्यालय र परिवेश

नारदगुरुको पाठशाला थियो र उनको पठशालामा युगौंदेखि चलिआएको पारम्परिक शिक्षा दिइन्थ्यो। त्यो श्रुति, स्मृति, धुलौटो, डिको, बाँसका खबटा र बाँसका कलममा आधारित थियो र किताब, कापी, पेन्सिल, कलम, स्लेट, खरीको प्रकाशसरको विद्यालयसामु त्यो धेरै दिन टिक्न सकेन। विद्यार्थी पनि असम्पन्नहरूमध्येबाट भएकाले गुरुदक्षिणा पनि नगण्य हुन थालेपछि नारदगुरु आउन छोडे  र उनका विद्यार्थी पनि लाखापाखा लागे।  

हामी स्वनिर्मित डेस्क, बेन्चमा बसेर लेखपढ गथ्यौं र प्रार्थना पनि त्यही नै उभिएर गर्थ्यौं। पाठशालामाजस्तो त्यहाँ एकले अर्कालाई उछिन्न सक्ने संभावना थिएन। तीक्ष्ण विद्यार्थीले कमजोरलाई पर्खनु पर्थ्यो र कमजोरले तीक्ष्णलाई भेट्न बढी परिश्रम गर्नु पर्थ्यो। पुरानो पाठशालामा विद्यार्थीले गल्ती गरे कन्सिरीका रौं तानिन्थे भने नया विद्यालयमा हातमा पिटाइ पाइन्थ्यो।  

अघिल्लो दिनको शिक्षाले आफ्ना केटाकेटीलाई के सिकाउछ? त्यो हाम्रा अभिभावकलाई थाहा थियो र उनीहरू त्यो शिक्षाबारे अर्ति, उपदेश दिन सक्थे तर पछिल्ला दिनको शिक्षामा भने उनीहरू हामीभन्दा पनि अनभिज्ञ थिए र सो विद्याप्रति उनीहरूको उत्सुकता यति धेरै थियो कि सामाजिक मर्यादाले नरोकेको भए उनीहरू आफ्ना छोराछोरीसँगै बसेर पढ्ने थिए। 

प्रकाशसर र त्यो स्कुल मेरो गाउँको परम्परामा परिवर्तन ल्याउने थालनी भए। प्रकाशसर गाउँका सबैभन्दा अलग्ग थिए। उनी जुल्फी पाल्थे, छरी काटथे, प्यान्ट, कमिजसुरुवाल लगाउथे र साबुन मन्जन प्रयोग गर्थे। उनले सम्पन्न बजारको सँस्कृति जानेका थिए र त्यसलाई गाउँसम्म ल्याइ पुर्‍याए। त्योभन्दा पनि पर उनी गाउँमा कसैले नजानेको विद्या जान्दथे। त्यसैले उनी हामी विद्यार्थीका निम्ति अनुकरणिय र उपमा भए। हामी टुप्पी राखे पनि कपाल बढाउन थाल्यौं, कैंची नभए दमाईका कतर्नाले कपाल काटिमाग्यौं। परम्परको हाम्रो दौरासुरुवालले कमिजपाइजामालाई ठाउँ दिनु पर्‍यो। हामीले सफा हुन सिक्यौं। नुहाउने साबुन नपाए कपडा धुनेले नै सही नुहाउन थाल्यौं। बुरुस र मन्जन उपलब्ध नहुनाले सिँवालीका डाँठका दतिवन भए पनि चल्यो। जुत्ता त हाम्रो लागि महँगो थियो र त्यो नकल गर्न भने हामीले निकै वर्ष पर्खनु पर्‍यो। 

प्रकाशसर र मेरो सम्बन्ध अभिभावक र आश्रितजस्तै रह्यो सधैं नै। आज यो लेख्दा प्रकाशसरसँगको पहिलो भेटपछिका ४५ वर्ष बितिसके(आज त उनी स्वर्गिय भइसकेः लेखक) पनि हामी एक अर्काका प्रिय नै छौं र एक अर्काको सुखदुखलाई खोजी गरि नै रहन्छौं। मेरा बडाबाहरूले भने प्रकाशसरलाई कहिले पनि रुचाएनन् र उनको सधैं अपमान नै गरे। उनीहरूले उनलाई नरुचाउने धेरै कारण हुन सक्छन्। मेरी आमाले सधैं उनीहरूसँग संरक्षण नमागेर प्रतिद्वन्तिता गरेको कारणले पनि त्यसो हुन सक्थ्यो या आफ्ना छोराहरूको शिक्षादिक्षाका निम्ति सो समयमा सो ठाउँमा शिक्षित ठहरिएका प्रकाशसरसँग मेरी आमाले राम्रो सम्बन्ध राख्नुलाई मेरा बडाबाहरूले 'यसको नियत ठिक छैन' भन्ने सोचेका पनि हुन सक्थे। ती दिनभन्दा केही समय अघि मात्रै मेरा साहिँला बडाबाकी, मेरै आमका उमेरकी र मेरै आमाका जस्तै दुई छोरा भएकी, विधवा सम्धिनी घरभित्रको सम्पत्ती लिएर अर्कैसँग हिडेकीले उनीहरूका मनमा आफ्ना बाबुको सम्पत्ती जाने त्राश पनि हुन सक्थ्यो। मेरी आमा भने उनीहरूका कुरा नमानेकाले उनको खेदो गरेको भनि ठान्थिन् भने म बडाबाहरूको डर पनि स्वभाविक हो भनि ठान्छु। 

हाम्रो शिक्षा कुनै नियमित शिक्षा थिएन। जो किताब थिए त्यही पढ्न थाल्यौं। ए बी सी डी बाट थालनी गरेर अंग्रजी शब्द घोक्न थाल्यौं। उच्चारण के कस्तो? स्वर तल कि माथि? कहाँ छिटो कहाँ ढिलो? व्याकरणको यस्तो ज्ञान गुरुलाई पनि थिएन, हामी शिष्यलाई त झन् हुने कुरै भएन। आफ्नै स्वरमा, आफ्नै भाकामा पढ्यौं, घोक्यौं। अंग्रजी बाहेक सबै पाठ्यपुस्तक नेपालीमा हुन्थे र पुस्तक छिचोल्न अगाडि नै अमरकोषसमेत छिचोलेका हामीलाई त्यति गाहारो पनि भएन। हाम्रो जम्माजम्मी एउटा कक्षा थियो र त्यसलाई कुन कक्षा भनेर छुट्याउनु पनि परेन। पढाइ सुरु भएको १।२ महिनामा नै फेरि नया किताब आए र सरले कक्षा उक्लिएको घोषणा गरे। यसरी हामीले ८।१० महिनामा नै ४ कक्षा पास गर्‍यौं। 

प्रकाशसर त्यही पाटीको माथिल्लो तलामा बस्थे र उनीसँगै पढ्न भनेर आएका अमरबहादुर श्रेष्ठ उनको खानापिनाको बन्दाबस्त गर्थे। केटाकेटी नै थिए अमरबहादुर पनि। दालचामल त जोहो गरेर राखिन्थ्यो नै। सागपात, तरकारी, दहीमोही आदि सामान भने त्यो समयमा गाउँमा बेच्ने चलन नभएकाले छरछिमेबाट मागेर नै चलाउनु पर्थ्यो। हाम्रो घर नजिकै भएको र सम्बन्ध पनि रामै्र भएकाले म बराबर सागपात, दहीमोही लगिदिन्थें। 

प्रकाशसर जसरी आए त्यसरी नै बर्ष दिन नपुग्दै विदा भए तर त्यो छोटो समयमा नै गाउँको र विशेष गरेर शिक्षामा हाम्रो मनस्थितिले ठुलै फड्को मारिसकेको थियो। पाठशाला त वर्ष दिन अगाडि नै विदा भएको थियो र अब त्यहाँ फर्कने संभावन थिएन। छोराहरू पनि नपढाई नभएकाले हाम्रा अभिभावकहरूले हामीलाई चैनपुर बजारको विद्यालयमा पढ्न पठाए। म पनि ९ वर्षको उमेरमा परदेश लखेटिएँ र प्रकाशसरको संरक्षणमा उनकै घरमा बसेर चैनपपुर विद्यालयमा पढ्न थाले।

Monday, September 29, 2014

हामी कहाँ छौ ? (लेख)



हामी कहाँ छौँ ?

विद्वानहरूका आ-आफ्ना राय र तर्क होलान् तर मजस्तो सामान्य मानिसले मेरा वरिपरिका कुरालाई लिएर नै हाम्रो स्थितिको आँकलन गर्नु पर्दो रहेछ । हिजो मात्रै एउटी नानीले भनिन् "गरिबले कसरी बाँच्ने बा ? एक छाक पनि नपुग्ने जाबो एक मुठो सागको ५० रुपयाँ तिर्नु परिरहेको छ । पोहोर १००० तिर्दै थिएँ एक बोरा चामलको निम्ति अहिले १५०० तिर्छु । खानमा पनि कति कटाउने ? छोराछोरी भोकै मार्न भएन ।"

नेताहरू कहाँ उपचार गराउछन् ? त्यो सर्वसाधारण जनताको चासोको विषय हुनु नपर्ने हो तर जब एकातिर केटाकेटी भोकै बस्नु पर्ने स्थिति आउछ अनि नागरिक जिम्मेवारप्रति आक्रोशित हुनु स्वभाविक हो । उसले नेताहरू विदेशका सानदार अस्पताल र वीर अस्पतालमा मर्नुमा अन्तर देख्न छोड्छ । जब सानो विरामी छोरोलाई औषधी किन्न नागरिक खुत्रुके फोर्दै हुन्छ र उसको रेडियोले नेताज्यू विशेष हवाइजहाज मार्फत 'हाछिउँ' उपचारको निम्ति विदेश भ्रमण लागेको समाचार भट्याउँछ, उसलाई खुत्रुकेसँगै यो संसार नै फोरिदिऊजस्तो लाग्नु स्वाभिविक हुन्छ । 

मेरो घरको वरिपरि जवान केटाहरू छैनन् । प्रत्येक घरमा सोध्दै गयो भने प्रशान्तमहासागरिय टापुदेखि पातालदेशसम्म चारो खोज्न हिडेका पाइन्छन् उनीहरू । सम्पन्नका छोराहरू यो वा ऊ नाममा पातालदेशतिर लागेका छन् भने असम्पन्नहरू १००/५० डलरको निम्ति ज्यान फालेर भतुवा हुन संसारभरि छरिएका छन् । हाम्रा विद्वान अर्थशास्त्री विश्वग्रामको प्रभाव ठान्छन् यसलाई र यसैले देशको अर्थस्थिति बिग्रन नदिएकोमा गर्व गर्छन् । तर जब मेरा फेसबुकका भित्तामा विदेशमा मरेका/मारिएका युवाका लाशहरू दिनहुँ टाँसिन्छन्, ती छोराछोरीको सुद्धाइँ खान वाध्य आमाबाबुहरू मेरा अगाडि लम्पसार परेजस्तो लाग्छ । 

के छ देशमा ? अर्थशास्त्री भन्नु हुन्छः "पैसा छ ।" हो पैसा छ हामीसँग । पैसा नहुदो हो त न सुखसयलका सामग्री सम्पन्नहरूले पाउने थिए, न हाम्रा नेताजीहरू 'हाछिउँ' को ओखती गर्न पातालदेशतिर धाउने थिए । एउटै हवाइजहाजले लाश देशभित्र भित्र्याएर नेताजीहरूलाई विदेश पुर्‍याउने थिएन । हातमा स्मार्टफोन लिएका सम्पन्न तन्देरीहरू प्रेमिकासँग जिस्किन पाउने थिएनन् । 

अर्थशास्त्री सोच्छन् कति नै गएका छन् र देश बाहिर ? बढीमा भए त्यही ५० लाखका हाराहारी त हो नि । अझ त्यति नै पठाउन सके देश सम्पन्नताले हराभरा हुने ठान्छन । त्यति समस्या हाम्रा नेतालाई पनि छैन । आफूले सत्ता पाउन यो देश टुक्र्याउन तयार छन्  र उस्तै परे बेच्नै पनि । उनीहरूलाई शाशनाधिकार दिने हो भने के फरक पर्छ उनीहरूलाई ? माथि एउटालाई रिझाउनु परे पनि तलका सबै जनतालाई कज्याउन त पाइन्छ । त्यसैले होला देश छुट्याउनु पर्छ भन्नेलाई त्यो प्रचारप्रसार गर्ने अधिकार दिनु पर्छ भन्छन् हाम्रा नेताहरू । के थाहा ? भोलि 'हतियार उठाउने अधिकार पाउनु पर्छ उसले' पनि भन्ने हुन् कि ! भोलि यो देश बेच्नु पर्छ भन्नेले पनि छुट पायो भने अचम्म नमान्नु पर्ने दिन आउन सक्छ नेताहरूको यही रवैयाले ।

कहाँ छौँ हामीहरू ? कहाँ छौँ ? थाहा छैन । कुनै दिन १४ हजार बिजुली बनाइदिनेहरू झोलामा खोला बोकेर दौडेका थिए र हाम्रा नेता भन्थेः दिन सप्रेका छन् हाम्रा, देश झलमल्ल हुने छ । तर हामी अन्धकारमा छौँ आज । आज तिनै नेता र अर्थशास्त्री भन्छन् 'माथिल्लो कर्णाली सन्धी भयो । अब हाम्रो मुलुकमा उद्योग खोलिदिने ताँती लाग्ने छन् ।' आशा  गरौँ हामी त्यसमा भर नपरे पनि किनकि विशाल छिमेकीहरूको मुलुकको बजारमा लगानी गर्न छोडेर, कुन मुर्ख होला ? कुनै राजनैतिक नैतिकता पनि नभएको मुलुकमा लगानी गर्न आउने ?

यहाँको मुद्राको भर छैन । मुद्राको भर हुदो हो त स्वयम् अर्थमंत्रीले देशमा बसेर विदेशी मुद्राको खाता खोल्ने थिएनन् । ३ करोड नेपालीले बेहोर्नु पर्ने स्वास्थ्यसेवामा पनि यहाँका नेताहरूलाई विश्वास  छैन र सरकारी रकममा विदेश दौडन्छन् । शिक्षामा भर छैन यहाँका सम्पन्न र नेताहरूलाई । यहाँका विद्यालयहरू त सामान्य नागरिकका लागि हुन् । यहाँ जन्मिएकैमा अपराध ठान्न थालेको छ नेतादेखि सामान्य नागरिकसम्मले र मौका पाउने बित्तिकै भाग्न चाहन्छ ऊ । विदेशीमुद्राका खाता, अमेरिकी डीभी, विदेशमा पढाइ, नकली पासपोर्ट, विदेशमा लगानी यी सबै त्यही अपराधबोधको परिणाम हो । 

प्रधानमंत्रीले नागरिकता बाँडुन् या नबाडुन्, निजी स्वार्थ विना कोही पनि यहाँ पसेर काम गरिदिदैन । त्यसैले विदेशिएका नेपालीले आएर गरिदिन्छन् भन्ने नसोचे हुन्छ । त्योभन्दा आफ्नो स्वार्थ हेरेर छिमेकी भारतकाले गर्न सक्छन् । त्यसैले लगानीका आशले नागरिकता बाँड्नु पर्ने जरुरत छैन ।
इन्द्रचोकको घर बेचेर मेनेसोटाको फाँटमा घर बनाउनेको त विश्वास नहुने नै भयो तर विदेशीमुद्रामा खाता खोल्ने मंत्रीको पनि विश्वास रहेन । यति हुदाहुदै पनि आश छ मलाई किनकि यो देश छोडेर जान नचाहने पनि छन् र तिनले यो देश बनाउन सकेसम्म प्रयास गर्ने छन् । तिनलाई म सपुत भन्ने छु । बाहिरका त आएर हलो जोती दिने हुन् ज्यालादारीमा या अधियामा । 

हो यही स्थितिमा छौँ हामी दोबाटोमा । गन्तव्य निश्चित छैन । गन्तव्य पहिल्याउने आशामा छौँ ।

Journey to Life: प्रवेश आङ्ल भाषाको



प्रवेश आङ्ल भाषाको

(मेरा अंग्रेजी गुरु स्व.प्रकाशराज जोशी)
 
बाहुनले गाईखाने म्लेच्छ भाषा पढ्न हुन्न भन्ने मान्यता त्यो समयमा हाम्रा गाउँमा थियो। म्लेच्छभाषा या गाईखाने भाषा पढ्नेलाई जातबाट र अझ पानीबाट नै पनि काढन सकिन्थ्यो। जुल्फी पाल्नु (पछाडि कपाल बढाउनु), छरी काट्नु(पछाडिको कपाल काट्नु) भातमा नचल्ने अझ जातै जान सक्ने कुकर्म मानिन्थे। नियमले त बाहुनले बिहानै दिसा, सुची गई ३६ पल्ट हात माटोले सफा गरी लगौंटी लाएर नुहाउनु पर्थ्यो। सफा धोती फेरेर पानीको मूलमा बसी एक सय आठ पल्ट गायत्रीमंत्र जप पनि गर्नु पर्थ्यो। शुद्ध धोती लगाएर अल्गो चुलोचौकोमा बसेर कसैले नछोई खाना खानु पर्थ्यो र एउटा फरिया मात्र लाएकी बिहे भएकी बाहुनी मात्र त्यो चुलोमा पुग्न पाउथे। व्रतबन्ध नभएका छोरा र बिहे नभएका छोरी समेत चुलोमा चल्दैनथे। यी मर्यादाहरूलाई मादीबिर्ताका बाहुनहरूले सकी नसकी धेरथोर पालन गर्थे। लुकीछिपीका कुरा गर्ने हो भने त लसुन, प्याज, छ्यापी, गोलभेडा खाँदा जातै जाने भए पनि मेरी बजैले सबै जना सुतिसकेपछि लसुन खाएको कुरा त मैले अगाडि नै भनिसकें र यस्ता लुकीछिपी काम अरूले पनि गर्थे। 

बाहुनले वेदविद्याजस्तो देवभाषा मात्र पढनु पर्ने मान्यता बोकेको समाजमा म्लेच्छभाषा पढ्ने हावा एकाएक आयो। मेरी बजै मरेको एक डेढा महिना नबित्दै चैनपुर बजारबाट वीस वाइस वर्षको नौजवान प्रकाशराज जोशीलाई(जसलाई हामी सर भन्ने गर्थ्यौ र अब पछाडि प्रकाश सर भनिने छ) वार्षिक एक निश्चित अन्नपात र रकम दिने शर्तमा हामीलाई पढाउन ल्याइयो। कसले के र कति दियो त्यो त मलाई थाहा भएन तर प्रकाशसरको प्रवेशले मेरो मात्र होइन सारा गाउँको जीवनढाँचामा प्रभाव पार्न सुरु गर्‍यो।  

कुनै पाठशाला खुल्नु, कुनै शिक्षक आउनु ठुलो कुरा थिएन। ठुलो कुरा त पाठशाला चाहिन्छ, शिक्षक चाहिन्छ भन्ने मानसिकता विकास हुनु हो। हिजो अपवित्र, अछुत र अमान्य भएको भाषा, कोही कसैले पनि किन नहोस्, त्यसलाई स्वीकार गर्ने विद्रोह देखाउनु पनि तत्कालिन समाजमा ठूलो थियो र दर्‍है आँटको आवश्यकता पर्थ्यो। हुनत शिक्षाप्रेमी महानन्द सापकोटाले मादीबिर्ताबाट एक घण्टाको बाटो परको सदरमुकाममा ५।७ वर्ष अगाडिनै अंग्रेजी भाषापठनको विद्यालय खोलेका थिए तर त्यसलाई सम्पन्न बिर्तावालहरूको गाउँले आत्मसात गर्न सकेको थिएन। पहिलो चैनपुर बजार थियो र बजारको मानसिकता गाउँको भन्दा धेरै उदार हुन्छ। दोश्रो, चैनपुर बजार नेवार वहुसंख्यक बस्ती हो र उनीहरूको आवतजावत, नातागोता धनकुटा, धरान, धुलिखेल र काठमाडौं उपत्यकासँग पनि भएकाले त्यसले केही प्रभाव त पारिनैहाल्थ्यो। बजार समूहमा तागाधारी थोरै र वहुसंख्यक मतवाली भएकाल तागाधारीमाजस्तो कट्टरता उनीहरूमा थिएन। मेरो गाउँ त कट्टर बाहुनहरूको थलो थियो, आफ्नो ठिंग्रो, मुंग्रो कायम राख्न सत्ताधारीको समर्थन गर्नुपर्नेहरूको विर्ता थियो। त्यस्ता गाउँमा पनि आधुनिक शिक्षाको चासो बढ्नुको अर्थ भारत स्वतन्त्रताको प्रभाव परेर नेपालमा सत्ताविरोधको विस्तारै विस्तारै चल्दै थियो। विद्यालय मादीबिर्ताको रामालय-शिवालयको नारद गुरुको पाठशाला भएको पाटीमा स्थापना हुने भयो। यो विक्रम संवत् २००६ सालको कुरा हो।
हुनत मेरा मोरङमा केही जग्गा हुनाले बिराटनगरतिर आवतजावत गर्ने जेठा बाजेका छोरा रुद्रप्रसाद दाहालले प्रकाशसरभन्दा एक वर्ष अगाडि नै एक जना शिक्षका बिराटनगरबाट ल्याएर आफ्नै घरमा राखी अंग्रेजीभाषा पढाउन थालेका थिए तर म सानो भएको र उनको घर टाढा भएकोले मलाई त्यहाँ पढाउन पठाएनन्। फेरि उनको त्यो प्रयास सामुहिक नभएर व्यक्तिगत भएकाले त्यो टिकाउ हुन सकेन जस्तो लाग्छ मलाई। 
अंग्रेजी विद्यालय सुरु गर्न शिक्षक आउने बित्तिकै गाउँका परिवार दुई भागमा विभाजित भयो। एक थरी आङ्ल भाषाका कट्टर विरोधी भए। विरोध गर्नेहरूमध्ये एक थरी नयाँ विद्यालयमा लाग्ने खर्च सुनेर नै आत्तिएका थिए भने अर्का थरी पूर्वमान्यतालाई त्याग्नु सत्ताको विरोध गर्नु हो भनेर नयाँ विद्यालयको विरोध गरे तर समय यति चाँडो बदलिरहेको थियो कि उनीहरूको विरोध त्यही समयमा पनि फितलो देखिन्थ्यो र पछि त्यो विरोधले कुनै आधार पनि पाएन।
प्रकाशसरको प्रवेशपछि हामी विद्यार्थी पनि दुई भागमा बाँढियौं। अंग्रेजी पढनेहरू प्रकाशसरको पाटामा गए र सँस्कृत पढनेहरू नारदगुरुतर्फ रहे। नारदगुरुकहाँ पढ्न सस्तो थियो। बाबुबाजेका पालादेखिका दुर्गाकवच, चण्डी, रुद्री, वेद, अमरकोष, लघुकौमुदीका पुस्तकहरूले नै काम चल्थ्यो र नारदगुरुलाई गुरुदक्षिणा पनि थोरै थिए पुग्थ्यो। मेरो पनि तात्कालिन पुस्तक त अमरकोष मात्रै थियो। प्रकाशसरकातिर भने सुरुमा नै सिङ्गै पाँच रूपयाँको किताब किन्नु पर्ने। एक सुकामा एउटा खेताला पाइने जमानाको त्यो दुर्गमा ठाउँमा पाँच रूपया निकाल्न जोसुकैले सक्ने कुरा पनि थिएन। त्यसैले पनि हाम्रो विद्यालयलाई असकहरूले ठुलाठालुको विद्यालय भन्ने गर्थे।
मेरो घरबाट २।४ मिनट परको रामालय-शिवालयको पाटीमा नारदगुरुले पढाइ सुरु गरेका हुन्। हामी पराले सुकुलको चकटीमा बसेर पढ्थ्यौ र घाम ताप्न मन लागे त्यही चकटी ओछ्याएर मन्दिरका वरिपरिका ढुंगामा बसेर पढ्थ्यौं। युगौंदेखि चलिआएको शिक्षापद्धतिमा न विशेष आसनको जरुरत थियो न विशेष पाठ्यपुस्तक नै चाहिन्थे। श्रुति र स्मृतिका आधारमा चलेको शिक्षापद्धतिमा आधुनिकता आएपछि केही पुस्तकहरू प्रयोग हुन थालेका थिए, नत्र त उही गुरु-शिष्य परंपरा, उही डिको-धुलौटो र बाँसका खबटा र उही श्रुति, स्मृति नै कायम थियो तर प्रकाशसर आएपछि हाम्रो परंपरा तोडियो। हाम्रा हातमा सुरुका दिनमा नै नयाँ पुस्तक र कापीहरू परे, डिकाको सट्ट कलम र पेन्सिल पायौं। तितेपाती र गाजलका दिन गएर नया मसीका चक्कीहरू आए। धोती लगाउने भारतिय उपमहाद्वीपको शिक्षा सुकुलमा पलँटी मारेर आर्जन गर्न सकिए पनि प्यान्ट लगाउने आङ्लहरूको विद्या लिन, दिन कुर्सी, डेस्क, बेन्च आवश्यक ठानिए। त्यसैले पाटीको पश्चिमपिट्ट नारदगुरुको भाग लाग्यो र पूर्वपिट्ट प्रकाशसरले डेस्क बेन्च लगाउन थाले। 
हाम्रा डेस्क, बेन्च सार्‍है भद्दा थिए। जमिनमा चार वटा वाँसका किला गाडेर त्यसमा चुकुल हाली चुकुलमाथि फल्याक तेर्स्याइएको फलैंचालाई हामी बेन्च भन्थ्यौं र त्यसको ठिक अघिल्तिर बेन्चभन्दा एक फुट अल्गो अर्को बेन्च हाम्रो बेन्च बनेको थियो। हाम्रा डेस्क र बेन्चमा उचाइमा बाहेक अरू अन्तर थिएन। प्रकाशसरका निम्ति भने कहीं कतैबाट कसैले काठको कुर्सी उब्जाइ दियो। 
हामी अल्गो बेन्चमा बस्नेहरू हामीबाहेक  अरू कसैले पनि नबुझ्ने भाषा पढिरहेका थियौं र त्यो उचाइबाट सुकुलमा बस्ने हाम्रा अघिल्ला दिनका सहपाठीहरूलाई तल देखिरहेका थियौं। हाम्रो शिक्षा सम्पन्न र असम्पन्नका बीचमा विभाजित थियो। अघिल्ला दिन नारदगुरु सबैका गुरु थिए तर भोलिपल्ट नै उनी असम्पन्नहरूको मात्र प्रतिनिधित्व गर्न थाले। त्यो दुर्गम ठाउँको त्यो बेलाको शिक्षा विभाजन यो देशका आजका उच्चस्तरिय आवासिय विद्यालय र सरकारी या सामुहिक विद्यालयहरूका शिक्षाजस्तै विभाजित देखिन्थे।

म्लेच्छ शिक्षाका अध्ययनका दिनहरू हाम्रा निम्ति आनन्दका दिनहरू हुनथाले। हामीलाई पलेटी मारेर बस्नु पर्ने वाध्यता थिएन। सरलाई गुरुलाई जस्तो खुट्टामा ढोग्नु पर्दैनथ्यो। नमस्ते गरि दिए पुग्थ्यो। हामी केटाकेटी थियौं र प्रकाशसर पनि कुनै पाका थिएनन् र एक दिन यस्तै केटाकेटीपनको शिकार हुन पुगेथें म।

प्रकाशसरले हामी प्रत्येकलाई पाँच रुपयाका पुस्तक र कापी दिदा १५ दिन भित्र पैसा बुझाउनु पर्ने जानकारी दिएका थिए। मैले मेरी आमालाई सो कुरा सुनाएँ तर मेरी आमाले भनिन् — "पर्‍या छैन पाँच पाँच रुपया हालेर किताब किन्नु। सात वर्षका मान्छेलाई पाँच पाँच रुपयाको किताब ! केटाकटीलाई पाएर ठग्न खोज्छन् ठग मोराहरू।"

"पैसा नदिए किताब फिर्ता लान्छन् रे।" — मैले रुन्चे स्वरमा भने। 

"लगे लान्छन्।"— मेरी आमा आफ्नो भनाइमा अडिग रहिन्।

मैले दिनदिनैजस्तो आमालाई मनाउन खोजें। आमा आफ्नो अडानबाट डेग चलिनन्। आखिर त्यो दुर्दिन आइहाल्यो जो आउने कुरामा शंका थिएन। म्याद नाघेको २।४ दिन पछि पनि मैले पैसा नल्याएकोले प्रकाशसरले भने — "तैले किन पैसा नल्याएको?"

"आमाले दिइनन्।" — मैले डराएर जवाफ दिएँ। 
प्रकाशसरले सबै किताब र कापी खोसेर लिए र भने — "भोलि पैसा लिएर आउनु अनि किताब कापी लानु।"
साथीसँगातीहरूको बिचमा म अपमानित भएर घर आएँ र आमासँग रोइकराइ गर्न लागें तर मेरी आमाले आफ्नो अडान छोडिनन्। अन्ततः मैले रुदै भनेँ — "सबैका किताब छन्, मेरा छैनन्। मैले के पढने त?"
मैले सोचेको थिएँ मैले व्रह्मास्त्र छोडेँ र आमासँग त्यसको काट छैन तर आमाले तुरुन्तै जवाफ दिइन् — "अमरकोषको किताब लिएर जा र गुरुसँग पढ्। पर्दैन अंग्रेजी पढनु।"
त्यो उमेरमा मेरोनिम्ति ती अंग्रेजी पुस्तक र अमरकोष पढनुमा कुनै अन्तर नभए पनि मेरा सहपाठीहरू बेन्च र डेस्कमा पढिरहेका र म भने केही दिन अघि मात्र छोडेको अमरकोषको किताब समाएर त्यही सुकलमा बस्नु परेको पीडा र अपमानवोधले आहत भएँ र मेरा आँखाबाट आँशु र घाटीबाट हिक्का आइनैरह्यो। नारदगुरुले मलाई धेरै सम्झाए तर म सम्झन सक्ने स्थितिमा नै थिइनँ। म त कसैले नदेख्ने ठाउँमा लुक्न चाहन्थे। त्यसैले मैले मृत्युको आह्वान पनि गरें किनकि कसैले नदेख्ने ठाउँमा लुक्नु नै मृत्यु ठानेको थिएँ मैले। तर मृत्यु मैले बोलाउदैमा आउन सक्ने कुरा भएन र त्यो आँशु, त्यो हिक्काको बीचमा मैले मेरी बजैको अभावको तिखो पिडा अनुभव गरें।
मेरी आमा भन्थिन् — "यो सार्‍है रुन्चे छ। बिहान रुन थाल्यो भने रातिसम्म रुन्छ। अझ निन्द्रामा नै पनि रोइरहन्छ।"
हुन पनि हो। चाहे आफ्नो होस् या अर्काको दुख देख्यो कि मेरो आँखामा आँशु आइहाल्छ। त्यो दिन त झन रोक्न सक्ने कुरै भएन। किताब अगाडि खुला भए पनि मैले एक अक्षर पनि पढ्न सकिनँ। 
नयाँ आङ्ल विद्या भर्खर भर्खर खुलेको र शिक्षक र विद्यार्थी दुवै पनि नया भएकाले हाम्रा अभिभावकहरू सबै नै दिनहुँ विद्यालयमा आउथे। उनीहरूले पारम्परिक शिक्षाको विधि त जानेका थिए, नौलो आङ्ल शिक्षा बारे भने पुरै अनभिज्ञ भएकाले त्यो शिक्षाका बारेका केही जान्न खोज्ने उत्कण्ठा पनि थियो उनीहरूमा। सधै झैं त्यो दिन पनि उनीहरू एकल या हुल भएर आए र सबैले निरिक्षणको सिलसिलामा म सुकुलमा बसेर रोइरहेको पनि देखे। सबैजसोले नै म रुनुको कारण जान्न खोज्दा नारदगुरु जवाफ दिन्थे — "आमाले किताब कापीको पैसा दिइनन् रे। सरले फिर्ता लगे भनेर रोएको।"
कुरा सामान्य थियो र जटिल पनि। मेरी आमाले नदिएपछि सिङ्गो पाँच रुपया मलाई कसैले पनि दिने र दिलाउने आँट गर्न सक्दैनथ्यो। सानो भए पनि म त्यति बुझ्थे र मैले कसैतिर पनि अनुरोध गरेर हेरिनँ। मेरो मनस्थिति पराजित थियो र मैले आँशु पनि रोक्न सकिनँ। मेरी आमाको त्यो अडान मेरो जीवनको नकारात्मक पक्ष हुने थियो कि सकारात्मक? त्यो छुट्याउन गाहारो छ तर त्यो अडान कायम नै रहेको भए आज जस्तो असीमित ज्ञान खोज्दै भौंतारि रहने भने म थिइनँ। मेरा नैतिकता-अनैतिकता, पाप-धर्म, न्याय-अन्यायका परिभाषा पनि आज जस्ता हुने थिएनन्। म एउटा साधारण गाउँको एउटा सामान्य मानिस रहने थिएँ र त्यही अज्ञानले मलाई स्थिर बनाउने थियो। 
औशीको रात नै भए पनि कहीँबाट जुनकुरी छिरेर प्रकाश जन्माइ दिन्छ। सुनसान ठाने पनि कुनै प्वालबाट छिरेको हावाले सुसेली हालिदिन्छ र मेरो जीवनमा पनि त्यस्तै भयो। निराशाको मेरो त्यो अनन्त सागरमा एउटा दरिलो स्वर सुनियो - "ए पण्डित, किन रुन्छ यो?"
"आमाले किताब कापीको पैसा दिइनन् रे। सरले फिर्ता लगे भनेर रोएको।" नारदगुरुले उही रटिरटाउ जवाफ दिए।
ती अभिभावकले मलाई उठाएर बेन्चमा बसालेर प्रकाशसर तिर हेरेर भने — "ए प्रकाश ! यसका किताब फिर्ता दे। यसले पैसा ल्याएन भने म तिरिदिउँला।"
सबै आश मरिसकेको स्थितिमा ती किताब फिर्ता पाएको क्षणको जति आनन्द मैले कहिले पनि पाइनँ र त्यो क्षण मेरो निम्ति सधैं स्मरणिय भयो। उनले मेरी आमालाई के भने? त्यो मैले थाहा पाइनँ र पाउने कोशिश पनि गरिनँ तर मेरी आमाले त्यो पैसा भोलिपल्ट नै तिरिदिइन् र जीवनमा आफूले जतिसुकै कष्ट सहनु परे पनि मेरी आमाले आफ्ना छोराहरूको पढाइमा पैसाको लोभ त्यसपछि कहिले पनि गरिनन्। त्यसै गरी मेरोनिम्ति आफूलाई धरौटी राखिदिने ती अभिभावक मेरो जीवन भर श्रद्धेय भए र सधैं मलाई मार्गदर्शन गरिरहे। मेरा गाउँका कैयौं बाजेमध्येका ती मेरा बाजेका काकाका छोरा लीलानाथ बा (२०१५ को निर्वाचनमा प्रतिनिधि सभाको सदस्य भएपछि हामी एम् पी बा भन्थ्यौ) ले मेरो जीवनमा एउता ढुंगा गाडेर मेरा बाटो तय गरिदिए।
मेरी आमालाई लीलानाथ बाले के भने त्यो बेला मैले चासो राखिनँ। पछि म उमेरदार भएर सोध्दा आमाले भने अनुसार बाले भनेका थिए रे — "सँगैमा तेरा जेठाजुहरूका छोरा भने पढेर ठुलो हुने तँ भने छोरालाई हलो नै जोताउँछेस् त, बुहारी?"
शायद त्योभन्दा ठुलो व्रह्मास्त्र पनि थिएन होला उनीसँग त्यो बेला। लीलानाथ बाले यिनै शब्द भने वा भनेनन् त्यो त्यति जरुरी थिएन तर उनले भनेका शब्द मेरी आमाका मनमा यसरी गाडियो कि उनले हामी दाजुभाइको पढाइलाई सधैं प्राथमिकता दिइन् र आज हामी जो र जस्ता छौं यो उनकै अथक प्रयासको परिणाम हो।